काठमाडौं। बागलुङको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ। सङ्घीय सरकारको देशका सबै पालिकामा १५, १० र ५ शय्याको पालिका अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल बनाउन सुरु गरिएको हो।
हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी भवन बनाउन ठेक्का सम्झौता गरेको छ। भवन निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान हुने अपेक्षा गाउँपालिकाले लिएको छ।
भवन बनाउन गाउँपालिकाले केही समय अगाडि नै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो। अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ। स्थानीयवासीले भवन बनाउन जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो। गत वर्ष शिलान्यास भएको अस्पतालको निर्माण भने अहिले सुरु भएको हो।
अस्पताल विशेष गरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ। विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु हुन थालेपछि निसीखोलाका नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने गाउँपालिकाले जनाएको छ।