काठमाडौं। हेटौंडा उपमहानगरपालिका–१३ मयुरधापमा निर्माण शुरु भएको औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृत नहुँदा भौतिक संरचना निर्माण कार्य अलपत्र परेको छ। संघीय वन तथा वातावरण मन्त्रालयले आईईई प्रतिवेदन स्वीकृत नगरिदिँदा निर्माण कार्य अलपत्र परेको हो।
निर्माणाधीन औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्न आनाकानी गरेपछि विगत एक वर्षदेखि निर्माण कार्य रोकिएको छ।
२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।२०७५ कात्तिक ५ गते मयुरधाप औद्योगिक क्षेत्र परियोजनाको लागि भन्दै कार्यालय पनि स्थापना गरिएको छ भने २०७७ फागुन १४ गते मयुरधाप औद्योगिक क्षेत्रको तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले तारबारको काम शुरू गरेकोमा पर्सा राष्ट्रिय निकुञ्जले काम रोकेको छ ।आफ्नो क्षेत्रभित्र वातावरणीय प्रभाव मूल्यांकन नगरी अनुमति विना औद्योगिक क्षेत्र स्थापना गर्न खोजको भन्दै निकुञ्जले काम रोकेपछि शुरू भएको विवाद वन मन्त्रालय र भूमि सुधार मन्त्रालयमा पुगेर अड्किएको छ । वन मन्त्रालय र भूमि सुधार मन्त्रालयबीच भोगाधिकारको कुरा नमिल्दा निर्माण कार्य अलपत्र परेको छ।