काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले जमिन मुनी तार बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या भएको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अन्डर ग्राउन्ड केवलको काममा सडक र खानेपानी विभागलगायतबाट समस्या खडा भएको बताएका हुन् ।
उनले भने, ‘अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायहरूले समस्या खडा गरिरहेका छन् र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पहल गरिरहेको छ । ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढनेछौं ।’
उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी समेत गरे । उनले करिब ९५ प्रतिशत नेपालीहरूको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्याउन सहयोग गरेको जानकारी दिए ।