काठमाडौं। अछामको बान्निगढी गाउँपालिका–६ साविक दर्ना गाविसमा २०७० सालमा पहिलोपटक बिजुली बत्ती बलेको थियो। दर्नावासीको लामो प्रयासका बाबजुद कैलाश खोलाको पानीबाट ८३ किलोवाट क्षमताको आयोजना सुरु भए पनि त्यो आयोजना सात वर्ष नपुग्दै खस्कदो अवस्थामा पुगेको छ।
जलविद्युत आयोजनाको पानीको कुलो बाढीले बगाएपछि त्यसको सञ्चालनका लागि कुनै पहल नभएको स्थानीयबासी बताउँछन्। स्थानीय क्षेत्रमा उत्पादन भएको विद्युतले स्थानीयबासीलाई निकै राहत मात्रै दिएको थिएन गाउँमा साना तथा मझौला उद्योगहरू समेत सञ्चालनमा आएका थिए।
साढे चार करोडको लागतमा निर्माण भएको लघुजलविद्युत आयोजनाको छ सय मिटर कुलो भत्किएको छ। सो आयोजनाको एक किलोमिटर सात सय मिटर लामो कुलो रहेको छ। साविकको दर्ना गाविसका ६ सय ६२ र कालागाउँ गाविसका ४ सय ५० घरधुरी विद्युतको पहुँचमा रहेका थिए।
प्रदेशका माननीय आएर अब विद्युत आयोजना सञ्चालन नल्याउने र राष्ट्रिय प्रसारणलाइन जोड्ने भनेर गएको स्थानीयले बताउ। विद्युतको चुहावट निकै बढेको छ। प्राधिकरणलाई एक वर्षमा २८ लाख तिर्नुपर्ने देखिएको छ। उपभोक्तासँग पैसा उठाएकै छ। विद्युत सहकारीमार्फत सञ्चालन हुँदै आएको राष्ट्रिय प्रसारण लाइनले उपभोक्तालाई निकै मारमा पारेको छ।
गाउँपालिका अध्यक्षले त्यो पनि अस्थायी सम्झौताअनुसार बिजुली बत्ती बालिएको र २८ लाख बक्यौता तिर्न नसक्दा तीनपटक विद्युतलाइन काटिएको बताउँदै त्यसको गाउँपालिकाले जिम्मा लिएर अहिले जडान गरिएको बताए। उनका अनुसार राष्ट्रिय प्रसारण लाइन जतिबेला पनि काटिन सक्नेछ।
लघुजलविद्युत् आयोजना हुँदा दिनमा २२ घन्टा बत्तीको सुविधामा रहेका उपभोक्ता अहिले कहिलेकाहीँ विद्युत् अवरुद्ध हुँदा दिनहुं बत्ती बिनै बस्नुपर्ने अवस्थामा रहेको स्थानीयवासी बताउँछन्। लघुजलविद्युत् आयोजना सञ्चालनमा हुँदा स्थानीय पाँचजनाले रोजगारीसमेत पाएका थिए।