काठमाडौं। एक वर्ष अघि मोरङको उर्लाबारी– ९ रातेहोली किनारमा निर्माण गर्ने भनिएको सन्थाल बस्ती अहिलेसम्म अलपत्र भएको छ। सङ्घीय सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गर्ने सन्थाल एकीकृत बस्ती विकास परियोजना यतिबेला अलपत्र भएको हो।
उक्त परियोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते शिलान्यास गर्दै १८ महिनापछि सन्थालहरू झुपडीबाट घरमा सर्ने बताएका थिए। सन्थाल जातिका अति विपन्न १३२ परिवारलाई सुविधासम्पन्न घर बनाएर राख्ने परियोजनाले स्थानीय स्तरमा खुसी छाएको थियो। १७ करोडको उक्त परियोजना सरकारले ठेक्का समेत लगाइसकेको थियो।
सगुन कन्ट्रक्सनले निर्माण गर्ने सन्थाल एकीकृत बस्ती ७ कट्ठा १६ धुर जग्गामा बन्नेछ। बस्तीभित्र बाल उद्यान , सन्थाल जातीय सङ्ग्रहालय निर्माण गरिने योजना थियो। तर नगरपालिकाले रातेहोलीको खोला उकास जमिन खाली गर्न सहयोग नगरेकाले एकीकृत बस्ती निर्माण परियोजना अहिलेसम्म अलपत्र परेको छ।
स्थानीय केही राजनीतिक व्यक्तिको बहकाउमा परेर जग्गा जोतभोग गरिरहेकाले जग्गा छोड्न नमानेकाले परियोजना अघि बढ्न नसकेको बताइएको छ। ऐलानी जमिन होइन तर पनि जसले उपभोग गरेका छन्, उनीहरूको सहयोग नहुँदा करोडौंको आयोजना अघि बढ्न नसकेको बताइएको छ।
सन्थाल जातिका एक स्थानीयले सरकारले निर्माण गरिदिएको घरमा बस्ने सपना टुटेर गएको बताए। उनका अनुसार ठूला नेताहरूबीच समन्वय नहुँदा हामी अन्यायमा परेका छौँ।