काठमाडौं। ललितपुर महानगरपालिकाले लगनखेलमा व्यापारिक प्रयोजनमा उपयोग हुने भवन बनाउने भएको छ। महानगरपालिकाले १८ करोड लागतमा व्यापारिक भवन बनाउने भएको हो।
महानगरपालिकाले मछीन्द्र कम्प्लेक्स मल्टिपर्पोज बिल्डिङ निर्माणका लागि बुधबार ठेक्का आह्वान गरेको छ। १८ करोड रुपैयाँ लागत अनुमान गरिएको भवनका लागि चालु वर्षमा ६ करोड बजेट विनियोजन गरिएको छ। उक्त विनियोजित बजेटबाट काम अघि बढाउन ठेक्का आह्वान गरिएको महानगरपालिकाले जनाएको छ। बहुवर्षीय योजनाअनुसार भवन निर्माण हुनेछ।
प्रस्तावित भवन आरसीसी फ्रेममा भूमिगतसहित ६ तलाको हुनेछ। यो कार्यालय र व्यापारिक प्रयोजनमा प्रयोग गर्ने महानगरपालिकाको योजना छ। भवन निर्माणका लागि बोलपत्रमा भएका सबै योग्यता पुग्ने निर्माण कम्पनीहरुले आवेदन दिन सक्ने छन्।
यसका लागि निर्माण कम्पनीले पछिल्लो १० वर्षमा वार्षिक निर्माण कारोबार एक अर्बको गरेको हुनु पर्ने सूचनामा उल्लेख छ। इच्छुक निर्माण कम्पनीले फागुन २७ गतेसम्म आवेदन दिन सक्ने छन्।