पर्सा। वीरगञ्ज महानगरपालिकामा दुई वटा बर्थिङ सेन्टर निर्माण हुने भएको छ। वडा नम्बर १७ अलौ र वडा नम्बर २६ सुगौली बिर्तामा बर्थिङ सेन्टर निर्माण हुन लागेको हो।
बर्थिङ सेन्टरको महानगर प्रमुख विजयकुमार सरावगीले शिलान्यास गरेका छन् । शिलान्यासका क्रममा महानगर प्रमुख सरावगीले नगर क्षेत्रमा स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन गर्नुका साथै सुरक्षित प्रसूती सेवा दिने उद्देश्यले बर्थिङ सेन्टर निर्माण गर्न लागिएको बताए।
वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्राले बर्थिङ सेन्टर तयार भएपछि वडाबाटै सामान्य प्रसूति सेवा दिइने जानकारी गराए । वीरगञ्ज महानगरको पूर्वाधार विकास शाखाका अनुसार राष्ट्रिय योजना आयोगको विशेष अनुदानबाट नगर क्षेत्रमा ५ वटा बर्थिङ सेन्टर निर्माण गर्न लागिएको छ । वडा नम्बर २२ जगरनाथपुर, वडा नम्बर २६ सुगौलीबिर्ता, वडा नम्बर १७ अलौ, वडा नम्बर ३१ बेल्वा र वडा नम्बर २९ बसडिल्वामा चालू आवभित्रै बर्थिङ सेन्टर निर्माण गर्ने गरी काम अघि बढाइएको छ ।
५ वटा बर्थिङ सेन्टर बनाउने जिम्मा पीएम सप्तपथड्रामा जेभीले पाएको छ । उसले ३ करोड ६८ लाख ८ हजार ४ सय रुपैयाँमा ५ वटै बर्थिङ सेन्टर तयार पार्नेछ । बाँकी तीन बर्थिङ सेन्टर निर्माण पनि छिट्टै सुरु हुने महानगरले जनाएको छ।