काठमााडौं। लमजुङको दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनाको काम ९८ प्रतिशत सम्पन्न भएको छ। दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो।
आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएपछि विद्युत उत्पादन सुरु गरिने छ। कम्पनीका अनुसार विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सम्पन्न गरी उपकरण परीक्षणको काम भइरहेको छ। आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ।
०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृह लगायत सबै संरचनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। अहिले अन्तिम चरणको छुटेको काम भइरहेको छ।
आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरले आयोजनाको उत्पादन पछि धकेलिएको कम्पनीले जनाएको छ।