काठमाडौं। सरकारले मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गराएको छ। क्यासिनो सञ्चालनबापतको ३८ करोड रुपैयाँ नबुझाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ड्रिमल्याण्ड होटल बन्द गराएका हुन्।
मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनोको लाइसेन्स समेत रद्द गराएका छन्। आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आव २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द गर्नुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द गरिएको हो।
ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ। लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकायअन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ। ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ।
मन्त्री ओलेले क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका छन्।