काठमाडौं। भारतबाट नेपालमा आयात हुने विद्युत परिमाण आधाभन्दा बढीले घटेको छ। देशभित्र विद्युत उत्पादन निरन्तर बढ्दै जाँदा आयात ५० प्रतिशत भन्दा बढीले घटेको हो।
नेपाल विद्युत प्राधिकरणले गत विद्युतको उच्च माग १६४७ मेगावाट हुँदा भारतबाट ३११ मेगावाट विद्युत आयात गरेर आपूर्ति व्यवस्थापन गरेको छ । यो आयात अघिल्लो वर्ष यस बेलाको तुलनामा ५३.५८ प्रतिशत (३५९ मेगावाट) कम हो ।
प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार गत वर्षको माघ २५ गतेका दिन भारतबाट ६७० मेगावाट विद्युत आयात गरेको थियो । विद्युतको बढी माग हुने समयमा माथिल्लो तामाकोसीबाट पूर्ण क्षमता (४५६ मेगावाट) मै विद्युत उत्पादन भइरहेकाले आयात घटाउन सकिएको बताइएको छ।
गत वर्ष उच्च माग हुँदा भारतबाट अधिकतम ८५० मेगावाट विद्युत आयात गरिएको थियो ।प्राधिकरणले गत वर्ष भारतबाट साढे २२ अर्ब रुपैयाँको विद्युत आयात गरेर आपूर्ति व्यवस्थापन मिलाएको थियो । यो आर्थिक वर्ष २०७६/७७ को तुलनामा ६७ प्रतिशत बढी थियो । यो वर्ष आन्तरिक विद्युत उत्पादनमा भएको वृद्धिले गत वर्षभन्दा ९ अर्ब रुपैयाँ बराबरको आयात घटाउन सकिने प्रक्षेपण प्राधिकरणले गरेको छ ।
मंगलबार विद्युत प्राधिकरणका जलविद्युतगृहबाट ५१३ मेगावाट विद्युत उत्पादन भएको छ । यो उत्पादन पनि अघिल्लो वर्ष यही दिनको तुलनामा ६६ मेगावाट बढी हो । प्राधिकरणका जलविद्युतगृहको गत वर्षको यही दिनको उत्पादन ४४७ मेगावाट थियो ।
यो वर्ष पनि नदी तथा खोलामा पानीको बहाव कम हुँदै गएपछि नदी प्रबाही जलविद्युत आयोजनाको उत्पादन घटेपछि नै प्राधिकरणले विद्युत आयात गर्न सुरु गरेको थियो । यो वर्ष सुख्खा याममा अधिकतम ३५० मेगावाटसम्म विद्युत आयात हुने अनुमान छ ।