दोलखा। बिगू गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन २ जलविद्युत् आयोजनाको काम रोकिएको छ। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले माथिल्लो तामाकोसीले निर्माण गर्न लागेको रोल्वालिङ खोला जलविद्युत् आयोजना र नासा हाइड्रोपावर प्रालिले आफ्नो प्रवेश मार्गका लागि निर्माण थालेको लामाबगर सुरुङमार्गको काम रोक्न पत्र पठाएको हो।
पत्र पाएपछि दुवै आयोजनाको काम २ सातादेखि रोकिएका छन् । आयोजनाको कार्यालयले यही माघ ७ गते सुरुङमार्ग र प्रवेशमार्गको काम रोक्न पत्र पठाएको छ भने माघ १७ गते माथिल्लो तामाकोसीको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडलाई पत्र पठाइ कार्यालयको अनुमति नभएसम्मका लागि निर्माणको कार्य अगाडि नबढाउन सूचित गरेको हो ।
रोल्वालिङ डाइभर्सनको लागि प्रवेश मार्ग र परीक्षण सुरुङको काम डेढ वर्षदेखि निर्माणाधीन छ भने लामाबगरमै पक्कि पुल समेत निर्माणाधीन छ ।