खोटाङ। निर्माणाधीन जिल्ला अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्किएको छ। अस्पतालको पश्चिमपट्टि लगाइएको पर्खाल सम्पन्न नहुँदै भत्किएको हो ।
जिल्लाको एकमात्र सरकारी अस्पतालको स्तरोन्नति हुने भएपछि उपचार सेवालाई निरन्तरता दिन पुरानो भवन भत्काउनुअघि पश्चिमपट्टि प्रि–फ्यावको अस्थायी भवन निर्माण गरिएको थियो । अस्थायी भवनको अगाडिपट्टि निर्माणाधीन टेवा पर्खाल सम्पन्न नहुँदै भत्किएको हो।
पचास शय्यामा स्तरोन्नति गर्ने गरी निर्माण सुरु गरिएको अस्पताल निर्माणको काम श्यामसुन्दर/रामसुन्दर नेपाल/फूलबारी जेभीले गरिरहेको छ। निर्माणाधीन टेवा पर्खाल सम्पन्न नहुँदै भत्किएपछि अस्पताल भर्ना भएर उपचार गराइरहेका जटिल किसिमका बिरामी जोखिम मोलेर उपचार गराउन बाध्य छन् ।
निर्माण कम्पनीले घडेरी सम्याउँदा फालिएको माटोमाथि पर्खाल लगाएकाले भत्किएको नेकपा माओवादी केन्द्रका युवानेता मिलनचन्द्र राईले बताए । उनले भने, “निर्माणाधीन अस्पताल भवनको पर्खाल हिउँदे वर्षामै भत्किएको छ । जिल्ला अस्पतालजस्तो संवेदनशील क्षेत्रमा निर्माणाधीन भवन गुणस्तरीय बनाउन र छिटो सम्पन्न गराउन सम्बन्धित निकायको तत्काल ध्यान जान जरुरी छ ।”
पर्खाल निर्माण गरिएको ठाउँ कमजोर रहेको र स्टिमेटसमेत गलत भएकाले अस्पतालको निर्माणाधीन पर्खाल भत्किएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका इञ्जीनियर रामहृदय पट्टेलले बताए ।
सङ्घीय सरकारको करिब रु २१ करोडको लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्ने गरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न अहिले पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ ।