काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडको नाफामा गिरावट आएको छ। कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा २७.५३ प्रतिशतले घटेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पहिलो सिमेन्ट कम्पनीले गत वर्षको पुषमा ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यसपाली नाफा ४२ करोड ७३ लाख रुपैयाँमा भएको हो।
कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्पानी गत वर्षभन्दा ८.१५ प्रतिशतले बढेर ४ अर्ब ६० करोड नाघेको छ। साथै सिमेन्टका लागि चाहिने कच्चा पदार्थको खर्च १९.३० प्रतिशतले बढेर २ अर्ब ६ करोड नाघेको छ।
यसबाहेक कम्पनीले इन्धन तथा बिजुलीको खर्च पनि १३.३१ प्रतिशत बढेर एक अर्ब ३ करोड नाघेको जनाएको छ। कम्पनीको कुल खर्च १४.५४ प्रतिशतले बढेर ४ अर्ब ११ करोड नाघेको छ।