संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा १५ करोड लागतमा सडक निर्माण हुने भएको छ । खाँदबारीको गोपाल भगत मेमोरियल अस्पताल खोरन्दे हुँदै महादेवस्थानदेखि चिवासम्म र खोरन्दे तिलाबारी देवीस्थान हुँदै साँघुखोला कदैलीसम्मको दुई वटा सडक निर्माण हुने भएको हो ।
दुवै सडक निर्माणका लागि शहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरेको छ । मन्त्रालयले इच्छुक कम्पनीले अस्पताल निर्माणका लागि आगामी कात्तिक १४ गते मध्यान्न १२ बजेसम्ममा आवेदन दिन सक्ने जनाएको छ । पहिलो सडकका लागि ११ करोड र दोस्रोको लागि ४ करोड ३० लाख बजेट छुट्याइएको मन्त्रालयले जनाएको छ ।
व्यवस्थित सडकको अभावमा वर्षौँदेखि समस्या खेपिरहेका स्थानीय सडक निर्माणको खबरसँगै राहत महसुस गरेका छन् । सडक नबन्दा यातायातको सुविधाबाट बञ्चित हुँदै आएका यहाँका बासिन्दा बिरामी भएको अवस्थामा धेरै नै समस्या हुने गरेको बताउँछन् । सडक र यातायातको व्यवस्था नहुँदा बिरामीलाई अस्पताल पुर्याउन नपाइ अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता सम्झँदै अब सडक बनेपछि यो दुख हट्ने भन्दै खुसी देखिएका छन् ।