काठमाडौं। ४२ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनाले निर्माण अनुमति पाएको छ ।विद्युत विकास विभागबाट सुपर तल्लो बागमती जलविद्युत आयोजनाले निर्माण अनुमति पाएको हो।
सुपर बागमती हाइड्रोपावर कम्पनीद्वरा प्रवर्द्धित उक्त आयोजनाको लागत ८ अर्ब रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋणबाट आयोजना निर्माण हुनेछ ।
आयोजनाले निर्माण अनुमति पाएपनि विद्युत प्राधिकरणले विद्युत खरीद विक्री सम्झौता (पीपीए) नगरिदिँदा वित्तीय व्यवस्थापन भने हुन सकेको छैन। वित्तीय व्यवस्थापनका लागि बैंकहरुसँग मोटामोटी टुङ्गो लागेपनि पीपीए नहुँदा सम्झौता हुन नसकेको बताइएको छ।
आयोजनाको लागि चाहिने पानी भने बागमती नदीको ढलको पानी नै मुख्य स्रोत हो । यसमा कुलेखानी नदीबाट निस्कने पानी प्रयोग गर्न मिल्ने भएपनि कुलेखानीको पानी जलाशयमा जम्मा हुने हुँदा वर्षायाममा मात्रै उपलब्ध हुन्छ । यसकारण कुलेखानीको पानी यसमा प्रयोग नहुने बताइएको छ।
साढे ६ किलोमिटर मुख्य सुरङसहित ८ किलोमिटरभन्दा बढी सुरुङ मार्ग रहने आयोजनाको बाँध ललितपुरको महाकाल र बागमती गाउँपालिकाको सिमाना ठूलो दुर्लुङ र गिम्दीमा रहनेछ। विद्युत गृह भने मकवानपुरको बागमती गाउँपालिकाको बेतिनी र फापरबारी क्षेत्रमा रहनेछ ।