कञ्चनपुर। कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ। होल्डिङ सेन्टरको निर्माण कार्य ९५ प्रतिशत सकिएको हो।
प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बिहान निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्। रक्षा सचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुगेका सेनापति शर्माले शुक्रबार बिहान एक हजार क्षमताको सो निर्माणाधिन होल्डिङ सेन्टर निरीक्षण गरेका हुन् । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गरिरहेको होल्डिङ सेन्टरको निर्माण कार्य आगामी फागुन महिनाभित्र सम्पन्न हुने बताइएको छ।
नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सन प्रालिले फागुन मसान्तभित्र सम्पन्न गरी सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गर्ने जानकारी प्रधानसेनापति शर्मालाई गराएकाे छ ।
सेनाको नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टर निर्माणको काम हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले पारदर्शी ढंगले सेन्टरको बाँकी काम छिट्टै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
२९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले फाल्गुन मसान्त सम्म होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण गर्ने जनाएको छ ।