काठमाडौं। १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजना फागुन २ गतेदेखि सञ्चालनमा आउने भएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको सोलु कोरिडोर प्रसारण लाइन आयोजना आगामी सोमबारदेखि सञ्चालनमा आउने भएको हो।
प्रसारण लाइनको रुटको भोगाधिकार क्षेत्रभित्र पर्ने रुखका हाँगा बिँगा काटेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। आयोजनाका अनुसार वन तथा वातावरण मन्त्रालयबाट पछिल्लो ४ वर्षमा बढेका रुख विरुवा कटानको स्वीकृति आउन समय लाग्ने देखिएपछि हाँगा विँगा कटान गरेरै भए पनि प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको हो ।
प्रसारण लाइन सञ्चालनमा ल्याउन शनिबार परीक्षण गरिने आयोजनाले जानकारी दिएको छ। यसअघि सोलुखुम्बुको तिन्लादेखि उदयपुरको घुर्मीसम्मको ४२ किलोमिटर खण्डको परीक्षण गरिएको थियो । शनिबार बाँकी खण्डको परीक्षण गरेर सोमबारदेखि ९० किलोमिटर प्रसारण लाइन सञ्चालनमा ल्याइने बताइएको छ।
विद्युत प्राधिकरणले सन् २०१६ को सेप्टेम्बर २५ बाट यो प्रसारण लाइनको निर्माण शुरु गरेको थियो ।
सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिन्लासम्म ९० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनको रुटमा ३०२ वटा टावर निर्माण भएका छन् ।
विद्युत प्राधिकरणले यो प्रसारण लाइनमा प्रवाह हुने गरी ३२५ मेगावाटका १२ जलविद्युत आयोजनाका प्रवद्र्धकसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।