म्याग्दी। म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकास्थित राहुघाट नदीमा एकैसाथ दुई वटा जलविद्युत निर्माण गर्न शुरु गरिएको छ। ३५.५ मेगावाट क्षमताको मंगले राहुघाट र ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न शुरु गरिएको हो।
तुँदी पावर कम्पनीले जलविद्युत निर्माण गर्न थालेको छ। दुईवटै आयोजनाको पहुँचमार्गको काम सकेर सुरुङ खन्ने काम थालिएको आयोजनाले जनाएको छ । ‘मौवाफाँटदेखि बन्दीघाटसम्म सडक र दुईओटा बेलिब्रिज बनाएर आयोजना निर्माणस्थललाई पहुँचमार्गसँग जोडिएको छ। आयोजनाका अनुसार सुरुङ निर्माण थालिएको र दुईओटै आयोजनाको विद्युत्गृह र बाँधको काम शुरू गर्ने तयारीमा गरिएको छ।
५ हजार ५०० मिटरमध्ये दुईवटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको र राहुघाट मंगलेको पनि थप तीनओटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ । माथिल्लो राहुघाटको पाँच किलोमिटरमध्ये दुईवटा अडिटबाट २३१ मिटर सुरुङ निर्माण गरिएको छ । बन्दीमा बाँध निर्माणाधीन अवस्थामा रहेको राहुघाट मंगले जलविद्युत् आयोजनाको चिमखोलाको मलाङमा विद्युत्गृह बनाउन जग्गा व्यवस्थापनको काम भइरहेको छ । दग्नामको अजिंगर भीरदेखि बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले बगरखोलामाथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवतजावत गर्न सहज भएको छ ।
कुल लागत पाँच अर्ब ९२ करोड लागत अनुमान गरिएको मंगले राहुघाटको आउटलेटदेखि ३५० मिटर तल रहेको विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ ।