म्याग्दी। धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघु जलविद्युत परियोजना पुनर्निमाण गरिएको छ। गत भदौ महिनामा आएको बाढीले क्षति पुगेर बन्द भएको लघु जलविद्युत परियोजना पुनर्निर्माण गरी सञ्चालन भएको हो।
लुलाङको दरखोलामा आएको बाढीले विद्युत गृह, बाँध र नहर बगाएपछि ४३ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो।
गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको रु २२ लाख सहयोगमा परियोजना मर्मत भएपछि पुन सञ्चालनमा आएको छ। उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले गत पुस महिनादेखि शुरु भएको लघुजलविद्युत परियोजना मर्मत सकेर आइतबार परीक्षण विद्युत उत्पादन सफल भएको र केही दिनमै नियमित विद्युत आपूर्ति हुने जानकारी दिए।
परियोजना मर्मतका लागि प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा पूर्वाधार विकास कार्यक्रमको रु १२ लाख र धौलागिरि गाउँपालिकाले रु १० लाख विनियोजन गरेको वडाध्यक्ष गमप्रसाद विकले बताए।
परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका उपकरण परिवर्तन भएको छ। मुहानमा २५ मिटर कुलो निर्माण र मर्मत गरिएको छ। विद्युतगृहको नयाँ भवन निर्माण भएको छ। नहर र विद्युतगृहको उचाइसँगै उत्पादन क्षमता घटेर ३५ किलोवाटमा झरेको छ।