काठमाडौं। चन्द्रागिरि नगरपालिका–४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल निर्माण गरिने भएको छ। जर्मन विकास बैंक (केएफडब्लु)काे रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अस्पताल निर्माण गर्न लागिएको हो।
सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौता भएको छ। सम्झौता अनुसार अस्पताल ४ वर्षभित्रमा सम्पन्न हुने छ । नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पुर्याएका छन्। डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढाइने छ ।
अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुग्ने छ। साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्याउने अपेक्षा गरिएको छ ।