काठमाडौं। सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ। सोलु करिडोर प्रसारण लाइन सोमबार बिहान चार्ज गरी सञ्चालनमा ल्याइएको हो।
सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको हो।
सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ ।
प्रसारण लाइन सञ्चालनमा तीन वर्ष ढिलाइ भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ठेकेदार छनोट भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको बताए ।