काठमाडौं। २५ वर्ष अघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टंकलाल श्रेष्ठले बेनी नगरपालिका ९ गलेश्वरमा सुविधा सम्पन्न होटल सञ्चालन गरेका छन्। बेनी– जोमसोम सडक अन्तरगत गलेश्वरमा मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर श्रेष्ठले होटल ताजमहल लज एण्ड रेष्टुरेण्ट निर्माण गरेका हुन्।
४० वर्षिय श्रेष्ठले मेहनतको कमाई र सिपलाई होटल क्षेत्रमा अघि बढाएका छन्। सुविधा अनुसारको एक हजारदेखि तीनहजार रुपैयाँसम्मको ३६ वटा कोठा उक्त होटलमा रहेको बताइएको छ। म्याग्दी मुस्ताङ आउने पर्यटकलाई विगतमा होटल सुविधा नहुदाँ बागलुङ, कुश्मा, पोखरा पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न कोभिडको महामरीकै बीच होटल निर्माण गरेको उनले जानकारी दिए।
श्रेष्ठ विस २०५३ सालमा कामको खोजीमा म्याग्दी हुँदै मुस्ताङ पुगेका थिए। मुस्ताङको कालापानी होटलमा साढे ५ वर्ष, होटल यती बेनीमा ९ वर्ष काम गरेको र गलेश्वरमा रिभरसाइड होटल भाडामा लिएर ७ वर्ष चलाएपछी आफ्नै लगानीमा मदरल्याण्ड होटल ५ वर्ष चलाएपछि सुविधा सम्पन्न नयाँ होटल सञ्चालनमा ल्याएका छन्।