काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गरिने भएको छ। स्मार्ट सिटीको विकासका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेडबीच सम्झौता भएको हो ।
निफ्राका सीईओ रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। समझदारी अनुसार सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तरास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धी कार्यहरुमा सहकार्य गर्नेछ । निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ ।
स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । करिब ५५०० रोपनी क्षेत्रफल ओगटने स्मार्ट सिटी विकासका लागि निफ्राले अन्य सरोकारवालाहरूसँगको समन्वयमा आवश्यक लगानी जुटाउने कार्य गर्नेछ ।