मोरङ। विराटनगरमा रहेको कोशी अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ। पिपुल अफ द यूनाइटेड स्टाटस अफ अमेरिकाको आर्थिक सहयोगमा स्त्रीरोग तथा प्रसूति विभागको नयाँ भवन निर्माण गरिएको हो।
भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले कोशी अस्पताललाई प्रदेश–१ कै नमुना अस्पताल बनाउने उद्घोष गरे। उनले ४० करोडको लागतमा आकस्मिक कक्ष र थप नयाँ भवन निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
त्यस्तै समारोहमा प्रदेश–१ स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशका १४ जिल्ला अस्पताललाई सहज जनशक्ति व्यवस्थापनको काम प्रदेश सरकारले थालिसकेको उल्लेख गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले नागरिकहरू सेवा लिन आउनु नै कोशी अस्पतालप्रतिको विश्वास रहेको बताए । कोशी अस्पतालको विकासका लागि प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्ने उनको भनाइ छ ।
१४ करोड १६ लाखको लागतमा निर्मित भवनमा ६१ बेड रहेको छ । नयाँ भवनबाट सेवा समेत सुचारु गरिएको छ ।