हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ। खार्पुनाथ शिवालयदेखि खर्पेल गाउँसम्मको सडक निर्माणका क्रममा खम्बा ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिका केन्द्र याङ्चु बजारमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको जानकारी दिए। जसले सम्पूर्ण कामकाज ठप्प भएको उनले बताए।
खार्पुनाथ शिव मन्दिरबाट वडा नम्बर ५ को खर्पेल गाउँसम्मको सडक निर्माणको क्रम खम्बा ढलेको थियो। विद्युत नहुँदा गाउँपालिकाको सेवा प्रभावित भएको छ। प्रमुख प्रशासकीय अधिकृत शाहीले सेवाग्राही दैनिक कार्यालयमा आउने र विद्युत नहुँदा काम नभएर फिर्ता पठाउनुपर्ने बाध्यता रहेको बताए।
उनले हिल्दुम साना जलविद्युत आयोजनाले क्षति पुगेको खम्बा मर्मत गर्न आनाकानी गरेकोसमेत जानकारी दिए।
आयोजनाले जसले क्षति गरेको हो, उसैले मर्मत गर्नुपर्ने जवाफ दिएको छ। सडक निर्माण गर्ने पक्षले पनि ढलेका खम्बा मर्मत गर्न चासो नदिएको बताइएको छ।