म्याग्दी। घारखोलामा निर्माणाधीन १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको हालसम्म ९० प्रतिशत निर्माण कार्य पूरा भएको हो।
आयोजनाको बाँध क्षेत्रको काम र ३ हजार ५ सय मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ।
अहिले सुरुङ ढलान गर्ने, १२ सय मिटर लामो पेनस्टक पाइपलाइनको पाइप जोड्ने र बिछ्याउने काम भइरहेको छ । पेनस्टकको काम बैशाखभित्र पूरा हुनेछ ।
विद्युतगृहको पनि सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ । संरचनाको काम आगामी डेढमहिनाभित्र पूरा गरि उपकरण जडानको काम सुरु गरिनेछ । उपकरण जडानको काम सुरु भएको ३ महिनाभित्र पूरा हुनेछ ।
आयोजनाबाट २०७९ साउनभित्र विद्युत उत्पादन गर्ने तालिका छ । आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।