मोरङ। मोरङ जिल्लाको लेटाङ नगरपालिका–३ मा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ। लेटाङमा २ करोड ५९ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो।
नगरपालिकाका प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले अस्पताल सञ्चालन भएपछि सरकारले दरबन्दीअनुसारको स्वास्थ्यकर्मी उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
यस्तै सोही नगरपालिकाको वडा नं ५ स्थित १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि निर्माण व्यवसायीसँग ९ करोड ९९ लाख ३६ हजार रुपैयाँको लागतमा सम्झौता भई निर्माण कार्य सुरु भएको जनाइएको छ । यसै गरी कृषिउपजलाई बजारीकरण गरी कृषकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले वडा नं ४ स्थित कृषि हाटबजार निर्माणको अन्तिम चरणमा पुगेको छ ।
त्यसका लागि ३ करोड २० लाख १६ हजारको लागतमा ठेक्का भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लक रहेको यो नगरपालिकामा कृषकका तरकारी बजारसम्म पुर्याएर उपभोक्तामाझसम्म लैजान सुविधा हुने नगरपालिकाका प्रमुख शंकर राईले बताए।
स्थानीय तहको निर्वाचनपछि हालसम्म २०.९३ किलोमिटर बाटोको नयाँ ट्रयाक निर्माण, ३९ दशमलव ५२ किमि बाटोमा ग्राभेल र १६.९ किमि बाटोमा कालोपत्र, तीन वटा सामुदायिक भवन निर्माण र १.५ किमि नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको पनि प्रशासकीय अधिकृत दाहालले जानकारी दिए।
नगरपालिकाले वडा नं ७ लाई नगरपालिकासँग जोड्ने भुवाखोलामा पक्की पुल निर्माणका लागि ५ करोड ५१ लाख ठेक्का सम्झौता गरिएको र आगामी जेठ महिनामा निर्माण सम्पन्न भई हस्तान्तरण हुने अवस्थामा रहेको छ।