लमजुङ। दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण गर्न शुरु गरिएको छ । दुधपोखरी गाउँपालिका–२ विचौरस्थित अल्काचौरमा १५ शय्याको अस्पताल निर्माण गर्न शुरु गरिएको हो।
१२ करोड ९० लाख लागतमा दुधपोखरी गाउँपालिकाको विचौर स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउन लागिएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण गर्ने व्यवस्थाअनुसार गाउँपालिकाले अस्पताल निमार्ण कार्यलाई तिव्रता दिएको गाउँपालिकाकाअध्यक्ष छुपिमाया गुरुङले बताइन् ।
स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
अस्पताल भवन निमार्णका लागि हिम सगरमाथा र गौरीपार्वती कन्ट्रक्सनसँग गत असारमा सम्झौता भएको छ । दुई वर्षमा निमार्ण सम्पन्न गर्ने गरी अस्पताल भवन निमार्ण कार्य गत कात्तिकबाट शुरु भएको छ ।