बाँके। जानकी गाउँपालिकामा अस्पताल निर्माण गर्न शुरु गरिएको छ। गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल निर्माण शुरू गरेको हो ।
जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण शुरू गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए । गाउँपालिकामा जनतालाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चितताका लागि अस्पताल निर्माण गर्न लागिएको उनले बताए ।
दुई वर्षमा १५ शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने गरी माघ २३ गते निर्माण कम्पनी हिम सगरमाथा–अनक जेभीसँग सम्झौता भइसकेको छ।
प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले अस्पताल निर्माणका लागि गाउँपालिकाले १७ करोड ५४ लाखमा बोलपत्र खोलेकोमा सो निर्माण कम्पनीले करसहित ११ करोड ४४ लाखमा ठेक्का पाएको जानकारी दिए। निर्माण कम्पनीका इन्जिनियर सुनिल पोखरेलले सम्झौता समयावधिभन्दा अगावै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।