सुनसरी। इनरुवा नगरपालिकामा २४ करोड लागतमा सपिङ्ग कम्प्लेक्स निर्माण गरिने भएको छ। २४ करोड ३१ लाख लागतमा नगरपालिकामा ‘इनरुवा सपिङ्ग कम्प्लेक्स’आयोजना निर्माण गर्न लागिएको हो।
आयोजना निर्माणका लागि नगर विकास कोष र इनरुवा नगरपालिकाबीच ऋण सम्झौता भएको छ।आइतबार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताबीच १९ करोड ४५ लाख २६ हजार रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको हो।
कम्प्लेक्स निर्माणको कुल अनुमानित लागत मध्ये ८० प्रतिशत ऋण रकम कोषको तर्फबाट र २० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सहमति भएको छ ।
इनरुवा नगरपालिका–१ मा करिब ५ कठ्ठा १८ धुर क्षेत्रफलमा सो भवन निर्माण हुन लागेको हो । सपिङ्ग कम्प्लेक्स निर्माणलाई नगरपालिकाको महत्वपूर्ण व्यावसायिक आयोजनाको रुपमा हेरिएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै इनरुवा नगरपालिकाका नगर प्रमुख मेहेताले नगरवासीलाई व्यवस्थित र आधुनिक शहरी सेवा सुविधा प्रवाह गर्न यस आयोजनामा नगर विकास कोषको ऋण महत्वपूर्ण हुने बताए । साथै उनले आयोजना गुणस्तरीयरुपमा समयमा नै सम्पन्न गर्नेतर्फ प्रतिबद्धता समेत व्यक्त गरे ।
कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजना ऋण सम्झौताको चरणसम्म आई पुग्दा आयोजनालाई गुणस्तरीय बनाउन तयारी तथा विकासको चरणदेखि नै आफूहरुको नगरपालिकासँग सहकार्य भएको बताए । आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे ।