सुर्खेत। कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधीन सडक र पुलको अनुगमन गरेका छन्। आइतबार मन्त्री रोकायाले प्रदेशमा निर्माणाधीन विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका हुन्।
वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणाधीन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधीन सडकको अनुगमनको क्रममा उनले निर्माण व्यवसायीलाई जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिए। विसं २०७६ असार ३१ मा आशिष हाम्रो जेभी सुर्खेत सम्झौता भई २ करोड ३७ लाख बजेटमा निर्माण कार्य सुरु भएको थियो।
विसं २०७७ असार २० गते सम्पन्न गर्नुपर्ने उक्त आयोजनालाई बेलाबेलामा ताकेता गरे पनि काम नसकेको र अहिले २०७८ चैत ३० गतेसम्म म्याद थपिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका इञ्जिनियर सूर्य शाहीले जानकारी दिए । उनका अनुसार पुलको भौतिक प्रगति ८० प्रतिशत भएको छ । २५ मिटर स्पान भएको पुल बन्न ढिलाइ भएपछि आवतजावत गर्न समस्या भएको स्थानीयले जनाएका छन् ।
त्यसैगरी मन्त्री रोकायले २ करोड ७४ लाख बजेटमा निर्माण भइरहेको प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक आयोजनाको पनि स्थलगत अनुगमन गरेर तोकिएको समयमै काम गर्न निर्माण व्यवसायी मजदुर कन्स्टक्सन सुर्खेतलाई निर्देशन दिएका छन्। निर्माणका लागि विसं २०७६ पुस २० गते सम्झौता गरी विसं २०७७ माघ १७ मा सम्पन्न गर्ने उक्त आयोजनाको काममा ढिलाइ हुँदा विसं २०७८ चैत मसान्तसम्म म्याद थप गरिएको थियो।