म्याग्दी। २० मेगावाटको कुनवान खोला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ। सुस्मित इनर्जी प्रालिले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पहिचान भएको आयोजना अघि बढाएको हो।
आयोजनाको अध्ययन पूरा भएको छ भने आयोजनाको उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिइएको कम्पनीले जनाएको छ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।
विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।
विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायसुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायसुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।
आयोजनाको काम २०८२ फागुन भित्र पूरा गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाबाट वार्षिक ११५.५१५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।