काठमाडौं। गृह मन्त्रालयले एमसीसी विरोधी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि नगर्न निर्देशन दिएको छ। मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले हिंसाजन्य गतिविधि नगर्न र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड नगर्न निर्देशन दिएको हो।
गृह मन्त्रालयले फागुन ८ गते भएका प्रदर्शनका क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गर्दै त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । यस्ता घटनाको छानबिन हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
'हिंसात्मक कार्यको नेपाल सरकार भत्सर्ना गर्दछ । त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानविनको क्रममा रहेका छन् । यस्ता प्रकृतिका घट्नाको नेपाल सरकार गम्भिरतापूर्वक निगरानी गरिरहेको छ,' मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गृहले सरकार नागरिकको जिउ धनको सुरक्षा गर्न तत्पर रहेको उल्लेख गर्दै प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उच्च संयमता अपनाइएको बताएको छ।