रसुवा । जिल्लाको स्याफ्रुबेसीमा रहेको लाङटाङ खोला जलविद्युत् आयोजनामा तीन बैंकले लगानी गर्ने सम्झौता भएको छ । आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब तीन अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको हो ।
आयोजना प्रवद्र्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ ।
२० मेगावाट क्षमताको यो आयोजनाको लागत तीन अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्णकार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।
आयोजनाको निर्माण पूरा भई उत्पादन हुने विद्युत् चिलिमे हब सबस्टेसनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ ।