काठमाडौं। कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्वास्थ्य चौकी भवन निर्माणको लागि शिलान्यास गरिएको छ। संघीय सरकारको १ करोड १६ रुपैयाँ अनुदानमा भवन निर्माण हुन लागेको हो।
उक्त स्वास्थ्य चौकी भवनको कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले शिलान्यास गरेका हुन्। भवन सरकारको मापदण्डअनुसार निर्माण हुने बताइएको छ। नगरपालिका सामाजिक विकासको सूचकमा पछाडि परेको क्षेत्रमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण हुने भएपछि उक्त स्थानका स्थानीय उत्साहित भएका छन्।
नगरपालिकाको १० मध्ये ३ स्वास्थ्य चौकीमा मापदण्डअनुसारको भवन रहेको नगरपालिकाकाले जनाएको छ। निर्माण हुन लागेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो।
निर्माणको ठेक्का गोरखनाथ कन्सट्रक्सन प्रालि काठमाडौंंले पाएको बताइएको छ। कम्पनीले असार मसान्तभित्र निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता गरेको छ।