काठमाडौं। बझाङको खप्तडछान्ना गाउँपलिकाले अपांगतामैत्री भवन निर्माण गरेको छ। खप्तडछान्ना गाउँपलिकाले ५ करोड ३९ लाख ५४ हजार ५ सय ५९ रुपैयाँ लागतमा भवन निर्माण गरेको हो।
उक्त गाउँपालिकाको वडा नं. ४ को पसलबगरमा आफ्नो भवन निर्माण गरेको छ। ०७७ साउनदेखि निर्माणको काम सुरु गरिएको थियो। गाउँपालिकाको भवन निर्माणका लागि विकोइ बिल्डर्स सुर्मा सरोवर जेबीले ३६ महिना निर्माणको काम सम्पन्न गर्ने गरी काम सुरु गरेको भएतापनी निर्माण कम्पनीले सम्झौताको १९ महिना बाँकी रहँदै भवन निर्माणको काम सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका भवन निर्माण सम्पन्न भएपछि बुधबार निर्माण कम्पनीले गाउँपालिकालाई भवन हस्तान्तरण गरेको हो। गाउँपालिकाको संरचना पूर्ण रुपमा अपांतामैत्री रहेको छ। भवनबाट केही दिनमा प्रशासनिक कामदेखि सेवा प्रवाह एकै ठाउँबाट हुन्छ। अपांगतामैत्री भवन भएकाले ह्विलचियरमार्फत नै सबै शाखाको सेवा लिन सकिने संरचना निर्माण गरिएको बताइएको छ।
उक्त भवनका १३ वटा कोठा, १ सभाहल र शौचालय रहेका छन्। भवन अपांगतामैत्री भएकाले अपांगता भएका व्यक्तिलाई सेवा लिन सहज हुने बताइएको छ।