सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने भएको छ। प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो।
सरकारले विपन्न नागरिकको घर बनाउन ५ करोड रुपैयाँ बजेट समेत छुट्याएको छ । करिब १ सय घर निर्माण गर्ने लक्ष्य लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए। विपन्नहरूको घर निर्माणका लागि हुम्ला र डोल्पामा पाँच लाख र अरु जिल्लामा चार लाख रुपैयाँका दरले उपलब्ध गराइनेछ ।
मन्त्री विष्टका अनुसार सुर्खेतका बाढी पीडित परिवारलाई तीन लाख रुपैयाँका दरले आर्थिक सहयोग दिने निर्णय भएको छ । २०७१ सालको बाढीबाट प्रभावित सुर्खेतका एक हजार ६२ परिवारलाई प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा प्रतिपरिवार तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।