झापा। मेचीनगर नगरपालिका–१४ की लख्खि मर्डीको घर नगरपालिकाले निर्माण गरिदिने भएको छ। गत माघ १४ गते आगलागीका कारण जलेर घरबिहीन भएकी मर्डीको घर नगरपालिकाले निर्माण गरिदिने भएको हो।
विगत १० वर्षअघि श्रीमानले छोडेपछि दुई छोराको पालनपोषण गर्दै आएकी मर्डीको आगलागीले घरसँगै अन्नपातसमेत जल्यो । मजदुरी गरी जीविकोपार्जन गर्दै आएकी उनी घरविहीन बनेसँगै मेची अभियान काँकडभिट्टाले घर निर्माण कार्यक्रम सुरु गरेको छ । आगोले जलेको श्रमिक महिलाको घर निर्माण गरिदिने उद्देश्यका साथ घर शिलान्यास गरेको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।
अभियानका परिकल्पनाकार तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले घर शिलान्यास गरेका छन् । घर शिलान्यास गर्दै नेता शर्माले चैत मसान्तसम्म घर निर्माण पूरा गर्ने संकल्प गरे । नयाँ वर्ष २०७९ मा मर्डीलाई नयाँ घर हस्तान्तरण गर्ने योजना रहेको उनले बताए । “हामीले नयाँ वर्ष मनाइरहँदा मर्डीलाई घर हस्तान्तरण गर्न सके हामी सबैलाई आत्मसन्तुष्टि मिल्नेछ,” शर्माले भने ।
“मर्डी विगत १५ वर्षदेखि एकल महिलाको रूपमा हुनुहुन्छ । साना छोरालाई हुर्काउन भोग्नु परेको पीडा, पढ्दै गरेका छोरालाई पठाउन नसकेको उहाँको पीडा दर्दानक छ,” नेता शर्माले भने, “ऐलानी जग्गाको टुक्रामा बनेको घर जलेर नष्ट हुँदा मर्डीले आइपर्ने विपत्ति सम्पूर्ण रूपमा बेहोर्नु भएको छ ।” मर्डीको घर निर्माणमा श्रमदानमा आफू पनि सामेल हुने महामन्त्री शर्माले बताए । नेता शर्मा र उनकी श्रीमती कविता शर्माले घर निर्माणका लागि ११ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेका छन् ।
घर निर्माण समयमा नै सम्पन्न गर्ने घर निर्माण समितिका संयोजक रेडक्रसकर्मी विश्व थापाले बताए ।