सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम ल्याएको छ। सरकारले प्रदेशका एक सय विपन्नका घर बनाइदिने कार्यक्रम ल्याएको हो।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो। घर निर्माणका लागि सरकारले पाँच करोड बजेट छुट्याएको छ। पाँच करोडमा करिब एक सय घर निर्माण गर्ने निर्णय भएको बताइएको छ।
हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका हकमा चार लाखको लागतमा खर्च गरिने कार्यविधि रहेको छ। मन्त्रिपरिषद् बैठकले बेरुजु बढेपछि प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने पनि निर्णय गरिएको छ। अबदेखि सातामा एक दिन बुधबारमात्रै र आवश्यकता अनुसार मन्त्रिपरिषद् बैठक बस्ने साथै २४ घण्टाभित्र निर्णय सार्वजनिक गर्ने निर्णय गरेको छ।