सल्यान। सल्यानका छत्रेश्वरी, दार्मा, कुमाख, कालीमाटी र कपुरकोट गाउँपालिकामा अस्पताल निर्माण कार्य शुरु गरिएको छ।
संघीय सरकारले प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउन भन्दै शिलान्यास गरेको डेढ वर्षपछि यी गाउँपालिकामा अस्पताल भवन निर्माण गर्न शुरु गरिएको हो।
अस्पताल निर्माण गर्नका लागि संघीय सरकारले पालिकाहरूमा १० देखि १८ करोड रुपैयाँ विनियोजन गरेको थियो । सल्यानका १० स्थानीय तहमध्ये शारदा नगरपालिकाबाहेक ९ स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो ।
बजेट परेको लामो समयपछि बन्गाडकुपिन्डे नगरपालिकाले भर्खर मात्र टेन्डर गरेको छ । त्रिवेणी र सिद्धकुमाख गाउँपालिकाले अस्पताल निर्माणका लागि डीपीआरको काम सकेका छन् । बाग्चौर नगरपालिकाले भने बजेट परे पनि कम शय्याको भन्दै अस्पताल निर्माण प्रक्रियालाई अहिलेसम्म अघि बढाएको छैन ।
सरकारले बजेट उपलब्ध गराएको २ वर्षपछि मात्र भएपनि पालिकाले कामको सुरुवात गरेपछि स्थानीय खुसी भएका छन्।
पालिकामा अस्पताल नहुँदा उपचारका लागि सुर्खेत, दाङ, नेपालगन्ज र जिल्ला अस्पताल जानुपर्ने बाध्यता छ ।