काठमाडौं। २०७२ साल वैशाखको भूकम्पले ध्वस्त भएका सिन्धुपाल्चोकका अधिकांश विद्यालय पुनर्निर्माण भएको छन्। सरकार र दातृ निकायको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएका हुन्।
बिनासकारी भूकम्पले सिन्धुपाल्चोकका ५४७ विद्यालय भवन ध्वस्त बनाएको थियो। पूर्ण रूपमा क्षति भएका विद्यालयका तीन हजार ६२० कक्षाकोठा ढलेका थिए। भूकम्पबाट क्षति पुगेकामध्ये चारवटा विद्यालयका भवनबाहेक सबै विद्यालयका भवन पुनर्निर्माण भइसकेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।
एसियाली विकास बैङ्कको २४ करोड रुपियाँको सहयोगमा पाँचपोखरी थाङ्पाल गाउँपालिकामा २६ रोपनी क्षेत्रफल जग्गामा थाङ्पाल भ्याली माध्यमिक विद्यालयको ५६ कोठे भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ। सुनकोसी गाउँपालिका–१, ठोकर्पामा चाइल्ड फन्ड जापान र टुकी सङ्घ सुनकोसीको दुई करोड ३४ लाख रुपियाँको सहयोगमा रक्तकाली आधारभूत विद्यालयको भवन निर्माण भएको प्रधानाध्यापकले बताए।
टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाले तीन करोड ९७ लाख रुपियाँको आर्थिक सहयोगमा बलेफी गाउँपालिका–६ को कुपकन्या माविको भवन निर्माण गरिदिएको स्थानीयले जानकारी दिए। जिल्लामा भूकम्पले क्षति पुगेका विद्यालयको भूकम्प प्रतिरोधी र आकर्षक भवन निर्माणपछि विद्यार्थीमा थप उत्साह थपिएको बताइएको छ।
निर्माण भएका विद्यालय भवन भूकम्प प्रतिरोधी र आकर्षक छन्। पुनर्निर्माण भएका विद्यालयमा बालमैत्री कक्षाकोठा, सुविधायुक्त कुर्सी–टेबुल, छात्रछात्रा र अपाङ्गमैत्री शौचालय, स्वच्छ खानेपानीलगायतका सुविधा उपलब्ध छन्।