काठमाडौं। संखुवासभामा निर्माण भएको ८.५ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजनाबाट उत्पादन शुरु भएको छ। आयोजना विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएसँगै परीक्षण उत्पादन शुरु भएको हो।
आयोजनाबाट उत्पादन भएको विद्युत कोशी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिएको छ । अहिले एउटा युनिटको मात्र विद्युत प्रणालीमा जोडिएको र अर्को युनिटको विद्युत एक साताभित्र जोडिने बताइएको छ।
आयोजनाले २ सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिनेछ । परीक्षणको चरण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिने भएको छ ।
आयोजनाको विद्युत बानेश्वर सबस्टेसनमा जोडिएको छ । विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण सम्पन्न गरेको हो।
आयोजना सञ्चालनमा आएपछि वार्षिक ४६.२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन ६.९५ र बर्खाको उत्पादन ३९.३२ गिगावाट घन्टा हुने कम्पनीले जनाएको छ ।
आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा १ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।