काठमाडौं। नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता अनुमोदन भएसँगै राजनीतिक दुर्घटना टरेको बताएका छन्। खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर अध्यक्ष दाहालले आइतबार संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र सरकार आगामी निर्वाचनसम्म रहिरहने बताएका हुन्।
गठबन्धन भत्किनु भनेको प्रतिगमन शक्ति हाबी हुनु भएको उनको भनाइ थियो । एमसीसी सम्झौता अनुमोदनसँगै आगामी निर्वाचन पनि सुनिश्चित गरेको दाबी गर्दै दाहालले एमसीसी सम्झौतामा केही गम्भीर विषय रहेको र संशोधन गरेर अनुमोदन गर्नुपर्ने आवाज आफूले उठाउँदै आएको बताए । साविक नेकपाका बेला आफूले संशोधन र परिमार्जन नगरी एमसीसी अनुमोदन गर्न हुँदैन बताएपछि फरक ढंगबाट बहस सृजना भएको दाहालको भनाइ छ ।
केही विवादित विषयलाई स्पष्ट पारेर व्याख्यात्मक घोषणा जारी गरेर एमसीसी अनुमोदन गरिएको बताउदै उनले तत्कालीन विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाको असहमतिका कारण एमसीसी अनुमोदनमा ढिलाइ भएको बताए ।
समाज नै विभाजित हुने गरी विवाद सृजना भएको विषयमा राष्ट्रिय सहमति कायम गरेर अनुमोदन गरिएको उनको भनाइ छ ।