काठमाडौं। बागमती प्रदेश सरकारले ४ वर्षपछि आफ्नै संरचना निर्माण गर्ने भएको छ। संरचना निर्माणका लागि गठबन्धन सरकारले जग्गा खोजी र छनोट गर्न थालेको हो।
स्थायी प्रादेशिक संरचना निर्माण गर्न हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र आठ स्थानमा जग्गा छनोट गरेको छ । सरकारले प्रमुख सचिवको नेतृत्वमा गठन गरेको ‘प्रशासनिक भवन जग्गा पहिचान समिति’ले जग्गा छनोट गरेको हो ।
समितिको सिफारिसमा प्रदेश सरकारले मातहतका मन्त्रालय, विभाग, आयोग, कार्यालय र आवासका लागि स्थायी भवन निर्माण गर्न जग्गा छनोट गरेर भोगचलनका लागि अनुरोध गर्दै संघीय सरकारसमक्ष स्वीकृतिका लागि पत्रसमेत पठाइसकेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संरचना निर्माणका लागि आठ स्थानमा कुल एक सय ९५.२७ बिघा जग्गा छनोट गरिएको छ। समितिले हेटौँडा–१९ लेवटमा ८०, हेटौँडा–१६ मा ५४, हेटौँडा–६ चित्रेपानीमा २५, हेटौँडा–९ लामसुरे हाइटमा १५, हेटौँडा–१७ डिपोचौर हटियामा १२, हेटौँडा–९ स्थित हेटौँडा सिमेन्टको स्वामित्वमा रहेको पाँच, हेटौँडा–१५ भोर्लेमा २.१३ र हेटौँडा–१७ हटियाको पश्चिम डिपोचौरमा २.१४ बिघा जग्गा छनोट गरेको छ । प्रदेश सरकारले प्रादेशिक संरचना तयार गर्न ‘प्रदेश राजधानी पूर्वाधार विकास आयोजना’ शीर्षकमा चालू आर्थिक वर्षमा ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।