म्याग्दी। देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन बिसौनीको रूपमा प्रयोग हुँदै आएको म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण सुरु गरिएको छ। साढे दुई करोड लागतमा उक्त टर्मिनल भवन निर्माण गर्न लागिएको हो।
बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि गुरुयोजनाअनुसार उक्त भवन निर्माण गर्न लागिएको छ। सघन सहकारी तथा भवन डिभिजन कार्यालय बागलुङले दुई करोड ४८ लाख रुपैयाँमा शुभ कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरी बसपार्क बनाउन लागेको बताइएको छ।
सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतिक्षालयलगायतको सुविधा रहेका टर्मिनल बन्ने योजनाअनुसार भवन निर्माणका लागि जग खन्ने काम भइरहेको जनाइएको छ। १५ महिनामा सक्ने लक्ष्यसहित पुस १३ गते कार्यालयसंँग सम्झौता भएको छ।
गत वर्ष बसपार्कमा रहेको बास्केटबल मैदानलाई कालिगण्डकी किनारमा स्थानान्तरण गरेर खैलमैदान ढलान र प्यारापिट निर्माण, बसपार्कको ट्याक्सी पार्किङ निर्माण गरिएको थियो। त्यस्तै, गत वर्ष नै बसपार्कमा यात्रु प्रतिक्षालय, सार्वजनिक शौचालय, टिकट काउण्टर र चियाखाजा पसलका लागि टहरा निर्माण, बसपार्क ढलान, सडकलाई कालोपत्रेले केही रूपमा धुलो कम र बसपार्क पहिलेभन्दा अव्यवस्थित पार्किङ कम भएको छ।