काठमाडौं। भैंसेपाटीमा निर्माणाधीन मन्त्री आवास क्षेत्रमा ११ मिटर फराकिलो सडक निर्माण गर्न निर्देशन दिइएको छ। राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले ११ मिटर फराकिलो बाटो बनाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो।
मन्त्रालयलाई निर्देशन दिँदै समितिले संघीय मन्त्री, प्रदेश प्रमुख तथा मुख्यमन्त्रीलगायतको आवास निर्माणस्थल पश्चिमपट्टि २७० मिटर सडक क्षेत्रमा स्थानीयको घर, जग्गा हानी नोक्सानी नहुने गरी ११ मिटर चौडा बाटो अनिवार्य गर्न भनेको हो ।
११ मिटर चौडाइ बनाउनुपर्ने माग गर्दै स्थानीयले सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजनाको ध्यानाकर्षण गराएका थिए । सडक चौडाइको समस्या ७ सय मिटर दूरीमा रहेको आयोजनाले जनाएको छ ।