झापा। बिर्तामोड–७ हर्चनाका ३७ विपन्न परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको छ। दशकौंदेखि अर्काको निजी जमिनमा बसोबास गर्दै आएका ३७ परिवारका लागि नगरपालिकाले ‘नमुना बस्ती’ निर्माण गरी व्यवस्थित बसोबास गराएको हो।
स्थानीय राधादेवी श्रेष्ठ, कमला श्रेष्ठ र धनजुज श्रेष्ठले जमिन निःशुल्क उपलब्ध गराएपछि नगरपालिकाले एकीकृत नमुना बस्ती निर्माण गरेको छ ।
जनप्रतिनिधिको पहल र सक्रियतामा प्रतिघर ४ लाख रुपैयाँको लागतमा ३७ वटा घर निर्माण गरेको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए । उनका अनुसार ह्याविट्याट फर ह्युम्यानिटी नेपालको ८७ लाख र नगरपालिकाको ७० लाख गरी कुल १ करोड ५७ लाख रुपैयाँको लागतमा उक्त बस्ती निर्माण गरिएको हो ।
बस्ती निर्माणमा सहारा नेपाल संस्थाले प्राविधिक सहयोग गरेको बताइएको छ । अतिविपन्न सन्थाल, चौधरी, मण्डललगायतका परिवारको बसोबास रहेको बस्तीमा फराकिलो सडक, विद्युत र शुद्ध खानेपानीको समेत व्यवस्था गरिदिने मेयर सिवाकोटीले बताए ।
बिर्तामोड नगरपालिकाले नमुना बस्ती मात्र होइन, नगरका ९ वटा वडामा थप करिब ५ सय अतिविपन्न परिवारलाई आवासको व्यवस्था समेत गरिदिएको छ । ‘विपन्न आवास’ कार्यक्रमअन्तर्गत नगरपालिकाले वडाबाट सिफारिस भएअनुसार दुई कोठा र एक किचनसहितको आवास निर्माण गरिदिएको नगरपालिकाले जनाएको छ।