काठमाडौं। देशका विभिन्न स्थानबाट आएर काठमाडौं उपत्यकामा अध्ययन गरिरहेका विद्यार्थीका लागि निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिने भएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई इन्डक्सन चुल्हो वितरण गर्ने भएको हो ।
केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन माग गरेको छ ।
आवेदनको संख्या हेरेर विद्युतीय चुल्हो किनेर वितरण गरिने केन्द्रले जनाएको छ। आवेदन धेरै भएमा दुर्गम तथा अतिदुर्गम क्षेत्रबाट आएर काठमाडौंमा बसेका विद्यार्थीलाई प्राथमिकतामा राख्ने केन्द्रले जनाएको छ।