रामेछाप । सुनकोशी दोस्रो जलविद्युत आयोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । आयोजना लागू हुँदा माझी समुदायको अस्तित्व नै समाप्त हुने भन्दै आयोजना खारेजीको माग गरेका हुन् ।
उर्जा, जलश्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गत विद्युत विकास विभागबाट प्रस्तावित जलाशयमा आधारित ९७८ मेगावाट क्षमताको सुनकोसी दोस्रो जलविद्युत आयोजना खारेजीको माग गर्दै प्रभावित क्षेत्रका माझी समुदायले जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन–पत्र बुझाएका छन् । ज्ञापन–पत्र सम्बन्धित निकायमा पर्याइदिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
आदिबासी माझी समुदायलाई जानकारी नै नदिई आयोजना लागू गर्न खोजेको भन्दै जबर्जस्ती आयोजना लागू गरेमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने उनीहरुको भनाइ छ ।
माझी समुदायको जन्मदेखि मृत्यु संस्कारसम्म नदी अनिवार्य भएकाले आयोजना लागू हुँदा माझी समुदायको संस्कार, संस्कृति, रीतिरिवाज र परम्परा समाप्त हुनुका साथै माझी जातिको अस्तित्व नै संकटमा पर्ने भएकाले आयोजना अगाडि बढ्न नदिने माझी समुदायको भनाई छ ।