म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ। बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा सबस्टेशन बन्द भएको हो।
विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो । यहाँबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा केन्द्रीय लाइनको विद्युत् वितरण हुँदै आएको थियो । दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना बन्द भएपछि १३.६ मेगावाट क्षमताको थापाखोला र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ३३÷११ केभीमा सिङ्क्रोलाइज (आन्तरिकीकरण) गरी घरापबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो । थापाखोलाको विद्युत्लाई चोखोपानी सबस्टेशनमा चार्ज गरिएको छ । घलेम्दीको बिजुलीलाई दानास्थित सबस्टेशनमा लगिएको छ ।
पुराना र जीर्ण ३३÷११ केभिए ट्रान्सफर्मर र प्रसारण लाइनमा बढी क्षमताको विद्युत् पठाइएकाले भार थेग्न नसकी ट्रिप सबस्टेशनमा विद्युत् काटिने) समस्या थियो । सबस्टेशन बन्द भएपछि लामो दूरीमा वितरण गर्दा विद्युत् आपूर्ति अनियमित हुन थालेको अन्नपूर्ण–३ दानाका गङ्गा पुनले बताए । दुईवटा जलविद्युत् आयोजना र बेनी–जोमसोम–कोरला सडक आयोजनाका अस्थायी क्रसरमा विद्युत् आपूर्तिमा समस्या आएको छ ।
घरापमा विसं २०४६ मा नेपाल विद्युत् प्राधिकरणले धवलागिरि क्षेत्रमै पहिलोपटक तातोपानी साना जलविद्युत् आयोजना निर्माण गरेर म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका बस्तीमा उज्यालो पुर्याएको थियो । गत वर्षदेखि सञ्चालनमा आएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले तातोपानी सानाको मुहानभन्दा माथि बाँध बानेर पानी लगेको छ ।